ताम्राकार भन्छन्, मलाई फसाउने षडयन्त्र गरियो

Krishna prasad tamrakar

काठमाडौं । भक्तपुरका व्यवसायी कृष्णप्रसाद ताम्राकारले भक्तपुरको सबैभन्दा ठूलो होटल सञ्चालन गर्ने सोच बनाए । जब उनले भक्तपुरकै ठूलो होटल बनाउने तयारी थाले, त्यही बेला दुई जना पाटनर आए । जसलाई आँखा चिम्लेर पाटनर बनाए ।

अहिले त्यही दुई जना पाटनर ताम्राकारका लागि निल्नु न ओकल्नुका भएका छन् । जसले थोरै लगानीमा पनि अर्बौको सम्पत्तिमा धावा बोल्न थालेका न् । त्यसरी धावा बोल्न खोज्ने व्यक्ति हुन् सरु महत र मनसुन विक्रम शाह ।

भक्तपुर नगरपालिका –१० कमलविनायकमा भब्य घर, जसलाई हेर्दा नै सबैको मन लोभिन्छ । ताम्राकार आफैं पनि ठूला व्यापारी भएका कारण भक्तपुर नगरपालिकाको स्वीकृतिमा दुई वटा भवन र आफू बस्न का लागि अर्काे एक वटा भवन २०७१ साल मै शानदार घर बनाए । त्यो पनि होटल प्रयोजन कै लागि भने । २०७२ मा भक्तपुर नगरपालिकाबाट निर्माण सम्पन्न प्रमाण पत्रसमेत लिए ।

भक्तपुरको मौलिक परम्परालाई जगेर्ना गर्ने हेतुले बनाइएका ती भवनहरु बन्न मात्रै पनि ६ वर्ष लागेको थियो । अहिले त्यो भवनमा बैरीको  आँखा लागेको छ । अर्थात् शेयरधनीका कारण उनले अहिले सास्ती खेप्नुपरेको छ ।

यसरी सुरु भयो दुःखका दिन
ताम्राकारले आफ्नै लगानीमा भक्तपुरकै ठूलो होटल सञ्चालन गर्न लागेको अवस्थामा सरु महत र होटेल डे कोर्टियाडको संयुक्त लगानी रहने गरी २०७३ फागुनमा होटल यातुको नाममा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।

कम्पनी रजिष्टारको कार्यालयमा होटल दर्ता हुँदा २ करोड पुँजी रहने उल्लेख छ । जसका ताम्राकारको ५२ प्रतिशत, सरु महतको २४ र होटल डे कोर्डियाडको २४ प्रतिशत शेयर रहने उल्लेख गरिएको छ ।

तर, सरु महत र मनसुन विक्रम शाहले आफ्नो तर्फबाट १० लाख रुपैयाँ मात्रै दिएर होटल कब्जा गर्ने नियत राखेको ताम्राकारको भनाई छ । पछिल्लो समयमा शाह र महतले अनावश्यक दुःख दिँदै शेयरभन्दा सयौं गुणा रकम माग गर्न थालेको ताम्राकारले बताए ।

आफु जापानिज नागरिक बताउने शाहले भक्तपुरका ठूलो लगानी गर्न चाहेको तर, आफु जापानिज नागरिक भएकाले सरु महतलाई अघि सार्दै आएका छन् । शाहले सरुलाई श्रीमति भएकाले सबै कामको जिम्मेवारी दिँदै आएका छन् ।

होटलको शेयरबारे कुरा नमिले छलफलको माध्यमबाट मिलाउन सकिनेमा कहिले प्रहरी लगाउने त कहिले सञ्चारमाध्यममा अनावश्यक समाचार प्काशन गर्न लगाएर आफुलाई मानसिक तनाव दिइरहेको उनको गुनासो छ ।

उनले शाहले आफुलाई जापानीज भनेर परिचय गराउने तर, कागजी रुपमा कुनै पनि प्रमाण नदेखाउने भएकाले शाह जापानिज भएको कुरामै शंका भएको बताए । ‘शाहजीले आफुलाई जापानिज भन्नुहुन्छ । उहाँ राम्रोसँग नेपाली बोल्नु हुन्छ । तर उहाँले कहिले पनि आफ्नो अनुहार देखाउँन चाहनु हुन्न’ ताम्राकारले भने, ‘यदी उहाँ जापानीज भए पनि नेपाली भए पनि स्पष्ट परिचयका साथ आएर छलफल गरे उहाँले भनेको मान्न म आफु तयार छु ।’

होटल यातुको नाममा त्यति धेरै पैसा लगानी गरिसकेको अवस्थामा शाहसँग होटेल सञ्चालनमा सहकार्य हुने कुनै सम्भावना नदेखेपछि आफुले होटेल यचुुको रुपमा अर्काे कम्पनी दर्ता गरेर होटल सञ्चालनमा ल्याएको उनले बताएका छन् ।

यस्तो छ ताम्राकारका कुरा
१. म स्वयम कृष्णप्रसाद ताम्राकार, सरु महत र होटेल डे कोर्टियाडको संयुक्त लगानी रहने गरी २०७३ फागुनमा कम्पनी रजिस्ट्रारको कार्यालयमा कुल पुँजी रकम २ करोड रहने गरी होटल यातुको नाममा कम्पनी दर्ता गरिएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको विवरणअनुसार मेरोे ५२ प्रतिशत, सरु महतको २४ प्रतिशत र होटेल डे कोर्डियाडको २४ प्रतिशत शेयर हिस्सा रहने उल्लेख गरिएको छ ।

२. भक्तपुर नगरपालिका साविक वडा नं. ४ मा मेरो आप्mनै ठूलो क्षेत्रफलमा मेरो व्यक्तिगत लगानीमा होटेल प्रयोजनका लागि भक्तपुर नगरपालिकाको स्विकृतिमा दुई वटा भवन र आफू बस्न अर्काे एक वटा भवन २०७१ सालमै निर्माण गरी २०७२ सालमा भक्तपुर नपाबाट निर्माण सम्पन्न प्रमाणपत्रसमेत प्राप्त गरि सकेको छु । भक्तपुरको मौलिक परम्परालाई जगेर्ना गर्ने हेतुले मैले उक्त भवनहरु ६ वर्ष लगाएर सम्पन्न गरेको जगजाहेर नै छ ।

३. आफुले निर्माण सम्पन्न गरी राखेको भवनहरु होटेल प्रयोजनको लागि भन्ने थाहा पाएर निज मनसुन विक्रम शाहले भक्तपुरका प्रतिष्ठित व्यापारी एवं मेरो मित्र प्रविण साखको सहयोगमा २०७३ माघ महिनामा आफुसँग भेटघाट गर्न आएका थिए । भेटघाटको क्रममा निज मनसुन विक्रम शाहले आफूलाई जापानी नागरिक भएको परिचय दिएका थिए । यो कुरा पत्र–पत्रिकाहरुमा समेत प्राथमिकताका साथ छापिएको छ । आफुसँगको छलफलकै क्रममा निज साहले आफू भक्तपुरमा लगानी गर्न आएको र विगत ३ वर्षदेखि व्यापारी प्रविण साखकै घरमा डेरा गरी बस्दै आएकोसमेत जानकारी गराए । नीज शाहले विभिन्न भेटमा सरु महतलाई आफ्नो श्रीमती भनेर परिचय गराएका थिए । यसै क्रममा मैले निर्माण सम्पन्न गरी राखेको भवन साझेदारी वा भाडामा सञ्चालन गर्ने प्रस्ताव नीज शाहले प्रस्तुत गरेका थिए ।

४. म आफैंले दुःख गरी होटेल प्रयोजनकै लागि भवन निर्माण गरेको अवस्थामा म आफैं अध्यक्ष हुने गरी निज मनसुन विक्रम शाहले साझेदारका रुपमा प्रस्ताव राख्दा म प्रस्तावमाथि छलफल गर्न राजी भएँ । सोही प्रस्तावकै आधारमा हामीले कम्पनीको रुपमा होटल यातु सम्बन्धित निकायमा दर्ता ग¥यौं । कम्पनी दर्ता प्रक्रियाको क्रममा निज मनसु विक्रम शाहले आफू जापानी नागरिक भएको कारणले गर्दा कम्पनीमा आफ्नो नाम नभई श्रीमती भनी परिचय दिएका सरु महत र होटल डे कोर्टयार्डलाई हिस्सेदार बनाएको थिए । सोही आधारमा आ–आफ्नो शेयर लिने कबुल अनुसारको हिस्सा रकम कम्पनीमा जम्मा गर्ने मौखिक समझदारीमा कम्पनी रजिष्टार कार्यलयको शेयर दर्ता किताबमा दर्ता गरिएकोे हो ।

५. मेरोे भवनमा मासिक ४ लाख भाडा तिर्ने मौखिक सहमति मात्र भएको हो । मासिक भाडा ४ लाखका दरले एक वर्षको एकमुष्ठ रकम ४८ लाख अग्रिम भुक्तानी गर्नुपर्ने प्रावधान सम्झौता पत्रमा उल्लेख छ । दोस्रो वर्षदेखि मासिक भाडा ५ लाख बुझाउनुपर्ने र बाँकी तीन वर्षको लागि प्रत्येक वर्ष वार्षिक १० प्रतिशतका दरले वृद्धि गरी बहाल बुझाउने सम्झौता पत्रको बुदामा उल्लेख गरिएको छ । तर सम्झौता पत्रमा हस्ताक्षरका लागि मुख्य व्यक्तिको रुपमा निज साहको श्रीमती भनिएकी सरु महतको र साक्षीको रुपमा निज मनसुन विक्रम साहको नाम उल्लेख गरिएको थियो । कति कारणले हो नीज साहले उक्त सम्झौता पत्रमा आफ्नो परिचय खुल्ने गरी हस्ताक्षर गर्न मानेन र अग्रिम बहाल रकम भुक्तानी गरी सम्झौता पत्रमा हस्ताक्षर गर्नुपर्ने विषयमा आफुले पटक–पटक अनुरोध गर्दासमेत आफ्नो पैसा नेपाल राष्ट्र बैंकले रोकेको भन्ने जस्ता अनेक बहानामा सम्झौता पत्रमा हस्ताक्षर नै गरेनन् । उक्त सम्झौता पत्रको खाका हालसम्म पनि मसँग सुरक्षित छ ।

६. उनले आफूलाई जापानी नागरिक हुँ भन्दै हिड्ने तर कहिँकतै एक शब्द पनि जापानीज भाषा नबोल्ने, आफ्नो परिचय खुल्ने गरी कुनै पनि लिखित प्रमाण नबनाउने गतिविधिले गर्दा शाहप्रति मलाई शंका उब्ज्यो । निज साह होटेल यातु मै पूर्ण समय दिएर होटेल चलाउने भनि प्रतिवद्धता जाहेर गरेको व्यक्ति पछि मेरो सम्बन्धको दुरुपयोग गरी मलाई कुनै जानकारी नै नदिई फेरी भक्तपुरमै अर्काे होटल सञ्चालन गर्ने कार्यमा लागेको मेलै थाहा पाएँ । मलाई जानकारीमा आएअनुसार निज मनसुनको उक्त कार्यमा समेत विवाद छ ।

७. त्यसपछि म निज साहसँग सचेत हुन थाले । निजले गरेका मौखिक समझदारीहरु पूरा गर्नुभन्दा फरक–फरक समयमा फरक–फरक बहाना बनाउने गर्न थाले । उनको चरित्रमाथि शंका गर्ने धेरै आधारहरु थपिँदै गए । मेरो आफ्नै लगानीमा बनेको भवन र साथै होटेल सञ्चालनका लागि अधिकांश पूर्वाधारहरु पनि मेरो व्यक्तिगत खर्चमा निर्माण गरेको अवस्थामा मलाई कुनै पनि हालतमा होटेल सञ्चालन गर्नु थियो । जसअनुसार मैले ठमेलस्थित होटल पेनगुइनमा ५ वर्ष व्यवस्थापक भई काम गरिसकेका एक व्यक्तिलाई म्यानेजरको रुपमा नियुक्त गरि होटेल सञ्चालन गर्न आवश्यक थप कार्य गर्न जिम्मेवारी दिए । त्यसपछि आफूले केही जालझेल गर्न नसक्ने अवस्था देखेर निज शाह होटेलबाट आफैं टाढिएर गएका हुन् । तर पत्रपत्रिकामा उल्लेख भएअनुसार मैले निज साहलाई वास्ता नगरी होटलमा एकलौटी गर्न खोजिएको भन्ने आरोप छ । यो आरोप निराधार छ ।

८. मैले निज मनसुनसामू तीन ओटा प्रस्ताव राखेको थिए ।
–शेयर प्रमाण पत्रमा कबुल गरेको शेयर रकम सबैले कम्पनीको खातामा जम्मा गर्ने, होटेल सञ्चालनका लागि अलग्गै टिम खडा गर्ने, हामी कसैले पनि उक्त टिमको कामलाई प्रभावित नपार्ने ।
–मेरो सबै शेयर पनि निज मनसुनले नै लिने, होटेल पनि पूर्ण रुपमा उ एक्लैले सञ्चालन गर्ने । मलाई मासिक ८ लाख रुपैयाँ भाडा तिर्ने । तर उसँग संयुक्त रुपमा काम गर्ने भनी निर्णय गरिसकेपछिको समयमा मैले गरेका सम्पूर्ण खर्चहरुको भुक्तानी मलाई दिनुपर्ने ।
–हामी कम्पनी नै खारेज गर्ने । होटेल सञ्चालनका लागि गरेका सम्पूर्ण खर्चहरु (भौतिक सामग्रीहरुको खर्चबाहेक) आधा आधा वेहोर्ने । ७ महिनाको लागेको भाडासमेत हामीले आधा–आधा व्यहोर्ने । भौतिक सामग्रीहरु सबै मेरो घरमा जडान भएको कारणले गर्दा मैले किन्ने ।

९. हामीले गरेका एसएमएसको प्रमाण मसँग उपलब्ध छ । अतः कुनै छलफलका लागि भेटघाट पनि नगर्ने, आफ्नो स्पष्ट धारण के हो भनेर प्रष्टाई नगर्ने, समझदारीअनुसार होटेल सञ्चालनमा कुनै चासो नराख्ने र मलाई विचलित बनाई मसँग पैसा असुल्ने प्रवृति देखिएको पनि ध्यानाकर्षण गराउन चाहन्छु । उनले पत्रपत्रिकालाई दिएको जानकारी अनुसार १ करोड ३२ लाख उल्लेख गरेको छ । त्यस्तै सिआईबीमा दिएको जानकारीअनुसार १ करोड १५ लाख भनिएको छ । मलाई एसएमएसमा पठाएअनुसार ३२ लाख उल्लेख गरेको छ । अतः विना प्रमाण यसरी फरक–फरक प्रस्तुतीहरु दिँदै जानुबाट निज शाहको चरित्र छर्लग हुन्छ ।

१०. मेरो आफ्नै लगानीमा त्यति धेरै पैसा लगानी गरिसकेको अवस्थामा मैले निज शाहबाट होटेल सञ्चालनमा सहकार्य हुने कुनै सम्भावना नदेखेको हुँदा वाध्य भएर होटेल यचुुको रुपमा अर्काे कम्पनी दर्ता गर्नु परेकोतर्फ पनि ध्यानाकर्षण गराउन चाहन्छु । आफूलाई जापानको नागरिक भनी बताउने मनसुन विक्रम शाहले आफ्नो पासपोर्ट नम्बरसमेत सम्झौता पत्रमा राख्न आनाकानी गर्दै नराखेकाले उनको नेपाल बसाई पनि शंकास्पद देखिएको छ ।

प्रतिकृया दिनुहोस