सुन डन गोरे भन्छन्– म व्यवस्थापक मात्रै, म भन्दा माथि धेरै छन्

Gore 2

काठमाडौ‌ । कुख्यात सुन तस्कर चुडामणी उप्रेती ‘गोरे’ले आफुले तस्करीको सुनको व्यवस्थापन मात्रै गर्ने गरेको र आफु भन्दा माथि अझ धेरै मान्छे रहेको बयान दिएका छन् ।

संगठित सुन तस्करीका मुख्य अभियुक्तका रुपमा प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका गोरे भनिने चुडामणि उप्रेती मंगलबार पक्राउ परेका हुन् । उनी काठमाडौंको गौरीघटस्थित आफ्नै घर नजिकबाट मंगलबार विहान साढे पाँच बजेति पक्राउ परेका थिए ।
सुन तस्करीमा प्रहरीसँग सहयोग लिएको र त्यसबापत आफूले रकम दिने गरेको पनि उनले पुष्टी गरेका छन्। प्रारम्भिक बयानमा गोरेले समातिएकाहरू सबै सुन तस्करीमा संलग्न रहेको स्वीकारे पनि माथिल्लो तहबारे खुलाएका छैनन् ।

संगठित सुन तस्करीमा राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ (यसअघि पक्राउ परिसकेका) र उनका साला पर्ने छिरिङ वाङ्गेल घलेको कनेक्सन रहेको गोरेले बताएका छन् । विमानस्थलस्थित थाई एयरलाइन्समा लोडर काम गर्ने बालकृष्ण श्रेष्ठले प्रहरीसँग बयानका क्रममा ‘सुन तस्करीमा एमके अग्रवाल भन्ने मोहनकुमार अग्रवालको लगानी र उक्त सुन ल्याउन गोरेसहित भुजुङ र डेबिट भनिने छिरिङले जिम्मा लिएको’ बताएका थिए ।

सुन तस्करीमा प्रहरी संलग्नताबारे सबै कुरा फरार एसएसपी श्याम खत्री र पक्राउ परेका पूर्वडीआईजी गोविन्द निरौलालाई थाहा भएको गोरेको बयान छ । उनले आफूले श्याम, गोविन्द र महानगरीय अपराध महाशाखाका सई बालकृष्ण सन्जेललाई मात्रै चिनेको बताएका छन् ।

गोरेको साथबाट बरामद मोबाइलमा उनकै स्वरमा केही अडियो क्लिपसमेत प्रहरीले फेला पारेको छ । त्यसमा उनले आफू निर्दोष रहेको र सबै दोष आफूमाथि थोपरेर फसाइएको बताएका छन् ।

प्रहरीका उच्च अधिकारी उच्च राजनीतिक संरक्षणविना अवैध सुन तस्करी कसरी सम्भव छ भन्ने प्रश्न गर्छन् । सुन तस्करीमा हुन्डीका ठूला कारोबारी, विदेशबाट ठूलो परिमाणमा विभिन्न वस्तुको न्यून बिजकीकरण गरेर आयात गर्नेहरूको समेत संलग्नता रहने गरेको यसअघिका घटनाले देखाइसकेका छन् ।

समितिले हुन्डीको कारोबार गर्नेहरू केहीलाई पनि संगठित सुन तस्करीमा समेत संलग्नको आशंकामा पक्राउ गरेको छ । पक्राउ परेकामध्ये धेरैजसो थोरै परिमाणमा खाडी देशबाट हुन्डी कारोबार गर्नेहरू रहेको बुझिएको छ ।

पत्रकार सम्मेलनमा समिति संयोजक पौडेलले प्राप्त प्रमाणका आधारमा थप अनुसन्धान बढाइने बताए । पौडेलले हालसम्म समातिएका अभियुक्तबाहेक अन्य थप सम्भावित तथ्य प्रमाण फेला पारिएको जानकारी गराउँदै भने, ‘अनुसन्धानका विषय अत्यन्त गम्भीर र जटिल प्रकृतिको भएको र यो जेरीजस्तै जेलिएको छ । हामी हरेक जेरीलाई सेलरोटीजस्तै खुलाउँदै जाने चरणमा छौं ।’

गोरेले आफू आत्मसर्मपण गर्ने योजनामा रहेको बारे आफैंले मोबाइलमा भिडियो खिचेर राखेको पनि पाइएको छ । युटयुबमा समेत सार्वजनिक भइसकेको उक्त भिडियोमा गोरेले बारम्बार आफू निर्दोष रहेको दाबी गरेका छन् ।

उनले सुन चोरी भएका बेला आफू कोलकातामा रहेको र सनमको हत्यापछि मामा भन्ने बालकृष्ण सन्जेललाई शव व्यवस्थापनका लागि आफैंले बोलाएको तर त्यसमा लेनदेनको कुरा बाहिर भनिएजस्तो नभएको भिडियोमा दावी गरेका छन् ।

गोरेले सनमलाई आफूले मात्रै यातना नदिएको, तर सुनको खोजी कार्य गर्न विमानस्थलका कर्मचारीलाई बोलाएर कुराकानी गरेको बताएका छन् । उनले सनम हत्यामा आफू संलग्न नभएको दाबी गर्दै बाहिरिएको भिडियो सनमको मृत्युको अघिल्लो दिनको भएको बताए ।

गोरेले सनमको गल्ती भेटेपछि त्यसरी कुटपिट गरिएको र आफूहरूबीच कुटपिट भइराख्ने कुरा सामान्य भएको समेत बताएका छन् । भिडियोमा उनले लुटिएको सुन आफ्नो नभएको र मालिक अरू नै रहेको बताए पनि मालिकको नाम भने खुलाएनन् ।

सनमको हत्यापछि ज्यानको माया भएर आफू भागेको बताएका गोरेले सम्पूर्ण दोष आफूलाई लगाइए पनि तस्करीमा छिरिङ र भुजुङसमेत रहेको बताए । सुनका अन्य लगानीकर्तामा एमकेबाहेक अन्य भारतीय रहेको उनले जनाए ।

एमके प्रहरीको फरार प्रतिवादीमा रहेका मोहनकृष्ण अग्रवाल हुन् । उनले आफूमाथि सुन खोजेर ल्याउन नभएर पैसा तिर्न दबाब दिइएको बताएका छन् । तर त्यस्तो दबाब कसबाट, कसरी आएको थियो भन्ने खुलाएका छैनन् ।

उच्च स्रोतका अनुसार शाक्यको हत्यालगत्तै गोरे भागेर भारत पुगेको सूचना प्रहरीले पाएको थियो । महानगरीय अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीले कोलकातास्थित भारतीय प्रहरीका केही उच्च अधिकारीसँग व्यक्तिगत सम्पर्कका आधारमा गोरे उता पुगेको सूचना दिएको महाशाखाका अधिकारी बताउँछन् ।

संगठित सुन तस्करीबारे गम्भीर अनुसन्धान सुरु भएपछि गोरेको खोजी तीव्र पारिएको थियो । प्रहरी प्रधान कार्यालयले उनलाई पक्राउ गर्न इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो ।

प्रहरी उच्च स्रोतले गोरे भारतको सिक्किम क्षेत्रमा लुकेर बसेको र उनलाई संगठित सुन ओसारपसारमा संलग्न केही भारतीय लगानीकर्ताले धम्की दिइरहेको सूचना पाएको थियो ।

३३ किलो सुनका मुख्य मालिक भनिएका सुनसरी, धरान उपमहानगरपालिका–३ घर भई काठमाडौं अनामनगर बस्ने मोहनकुमार अग्रवालले गोरेलाई सुन खोज्न वा त्यसबापतको रकम दिन दबाब दिएको स्रोतको दाबी छ । भारतमा रहेको सुनका लगानीकर्ताले गोरेलाई जसरी पनि सुन खोज्न वा आफ्नो लगानी बराबरको रकम फिर्ता दिन दबाब दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...