बेहडाबाबा मेलाको तयारी पुरा, मुख्यमन्त्री भट्टले उद्घाटन गर्ने

Mela

धनगढी । प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिर क्षेत्रमा बुधबारदेखि सुरु हुने गंगा दशहरा मेलाको तयारी पुरा भएको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ । मेलाको उद्घाटन प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नेछन्।

धनगढी उपमहानगरपालिका वडा नं १६ (साविक उर्मा गाविसमा) रहेको धार्मिक एवं एतिहासिक महत्वको सो मन्दिर नेपाली एवं भारतीय भक्तजनहरुका लागि आकर्षक गन्तब्य बन्ने गरेको छ । यस वर्ष यही जेठ ९ देखि १४ गतेसम्म लाग्ने गंगादशहरा मेलामा चार लाख भक्तजन सहभागि हुने आयोजकले अनुमान गरेका छन्।

यसअघि जनस्तरबाट मेला व्यवस्थापन हुँदै आएकोमा यस वर्षदेखि कैलाली जिल्ला समन्वय समितिले मेलाको व्यवस्थापन गरेको छ । बेहडाबाबा क्षेत्रलाई ७ नं प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिने जिल्ला समन्वय समितिका अध्यक्ष सुर्यबहादुर थापाले बताए ।

बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका सचिव पदमराज जोशीले मेलामा खानेपानीको व्यवस्था, सुरक्षा सतर्कता, यातायात, स्थल व्यवस्थापनको कार्य पूरा भएको जानकारी दिए। मेलामा ६ सय बढी विभिन्न व्यापारिक स्टल रहने जनाइएको छ ।

मेला भर्न आउने भारतीय तीर्थयात्रीका लागि नेपाल प्रवेश द्धार गौरीफन्टा भन्सारमा नै सर्वत पानीको व्यवस्था गरिएको आयोजकले जनाएका छन्।
बेहडाबाबाको दर्शन गरेमा पत्निलाभ, पुत्रलाभ, धनलाभ, हुने जनविश्वास छ । बेहडाबाबा मन्दिर कैलाली सदरमुकाम धनगढी बजारस्थित क्याम्पस चोकबाट करीब १० किलोमिटर पूर्व र पूर्व–पश्चिम महेन्द्र राजमार्गको चौमाला बजारबाट करीब ६ किलोमिटर दक्षिणमा अवस्थित छ ।

प्रतिकृया दिनुहोस