गृहमन्त्रीको निर्देशनपछि माइक्रोबस र टेम्पो धमाधम कारवाहीमा

Micro bus

काठमाडौं । गृह मन्त्रालयले क्षमताभन्दा बढी सवारी साधन बोक्ने साना माइक्रोबस र टेम्पोलाई कारबाही गर्न निर्देशन दिएसँगै ट्राफिक प्रहरी महाशाखाले क्षमता भन्दा बढी यात्रु बोक्ने माइक्रोबस र टेम्पोलाई कारबाही गर्न सुरु गरेको छ ।

महाशाखाले सवारीसाधनको सीट संख्याभन्दा बढी यात्रु राखेर हिँड्ने १८९ सवारी साधनलाई कारबाही गरेको जनाएको छ । सफा टेम्पो र १८ सीटभन्दा कम क्षमता भएका माइक्रोबसलाई ट्राफिक प्रहरीले विभिन्न ठाउँबाट चेकजाँच गरी कारवाही गरेको हो ।

आज समातिएका सवारी साधनलाई रु ५०० जरिवाना गरिएर छाडिएको महाशाखाका सहप्रवक्ता मुकुन्द मरासीनीले जानकारी दिए । एउटै सवारी साधनले पटकपटक गल्ती गरे रु तीन हजारसम्म जरिवाना गर्ने उनले बताए ।

गृहमन्त्री रामबहादुर थापाले बुधबार सरोकारवालासँगको बैठकमा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका थिए ।

यसैगरी महाशाखाले आजै मिटरमा चल्न नमान्ने ट्याक्सी र मिटरमा प्रिन्टर जडान नगरेका ११९ ट्याक्सीलाई कारबाहीसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस