रासायनिक हतियार प्रयोगको प्रमाण संकलन गर्न सिरिया पुगे विज्ञ

Syria final

काठमाडौं । सिरियाको राजधानी दमास्कस नजिकै रासायनिक हमला भएको भनिएको स्थानमा रासायनिक हतियारसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञहरुले अन्ततः निरिक्षण गरेका छन् ।

अर्गनाइजेशन फर द प्रोहिबिशन अफ केमिकल वेपन्स (ओपीसीडब्ल्यू) ले सिरियाको डूमा पुगेर त्यहाँबाट नमूना र अन्य प्रमाण संकलन गरेका छन् ।

डूमा अहिले सिरिया र रुसको नियन्त्रणमा छ । दुबै पक्षले त्यस्तो कुनै पनि रासायनिक हमला भएको अस्विकार गर्दै आएका छन् ।

सिरियाली सरकारी पक्षले गत अप्रिल ७ मा रासायनिक हमला गरेको भनिएको जवाफस्वरुप गत शनिबार अमेरिका, फ्रान्स र ब्रिटेनले सिरियाविरुद्ध क्षेप्यास्त्र हमला गरेका थिए ।

ओपीसीडब्ल्यूले प्रेस विज्ञप्ति जारी गर्दै डूमा नगरको निरिक्षण गरेको र संकलित नमूनालाई थप अनुसन्धानका लागि द हेगको रिजस्विकमा रहेको आफ्नो प्रयोगशालामा पठाइएको जानकारी दिएको छ ।

ओपीसीडब्ल्यूले अन्य सूचना तथा सामग्रीसमेत संकलन गरेको जानकारी दिएको छ ।

सो संगठनको ९ सदस्यीय टोलीले डूमा नगरभित्र पहुँच पाउने अनुमती प्राप्त गर्नका लागि एक हप्तादेखि राजधानी दमास्कसमा प्रतिक्षा गरिरहेको थियो ।

अनुगमनकर्ताको सो टोलीले बुधबार नै डूमा नगरमा प्रवेश पाउने भनिएको थियो । तर स्थलगत अनुसन्धानका लागि संयुक्त राष्ट्रको एक टोलीमाथि मंगलबार हमला भएपछि उनीहरुको भ्रमण धकेलिएको थियो । बीबीसी

प्रतिकृया दिनुहोस