चैते धान रोपाइँको चटारो उत्पादन पर्याप्त हुनेभएपछि कृषक लालायित

Dhan ropai

चितवन । जिल्लाको पूर्वी क्षेत्रमा चैते धान लगाउने चटारो शुरु भएको छ ।

उत्पादन पर्याप्त हुनेभएपछि सिञ्चित क्षेत्रमा कृषक चैते धान लगाउन लालायित भएका हुन् । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेकाअनुसार पूर्वी चितवनको रत्ननगरदेखि पिप्लेसम्म राप्ती नजिकका क्षेत्रमा चैते धान लगाउन शुरु गरिएको छ ।

चैतको पहिलो सातावाट चैते धान रोप्न शुरु गरिन्छ । असार महिनामा चैते धान भित्र्याउने गरिन्छ । जिल्लामा गतवर्ष पाँच हजार हेक्टरमा चैते धान लगाउँदा २२ हजार ५ सय मेट्रिक टन उत्पादन भएको थियो ।

नब्बे प्रतिशत भू–भागमा हर्दिनाथ एक जातको धान लगाइने लामिछानेले बताए । अन्य भागमा चैते २, चैते ४, विआर ४४ लगाइन्छ । वर्षातमा थन्क्याउन कठिन हुने भए पनि उत्पादन पर्याप्त हुने भएपछि कृषक चैते धानतर्फ आकर्षित भएका हुन् ।

वर्षे धान एक हेक्टरमा तीन मेट्रिक टनको हाराहारीमा उत्पादन हुन्छ । चैते धान एक हेक्टरमा चार दशमलव पाँच मेट्रिक टन जति उत्पादन हुन्छ । साना कृषि सहकारी संस्था बछौलिका सदस्य रामहरी दाहाल उत्पादन पर्याप्त हुनेभएपछि चैते धानतर्फ किसानको आर्कषण बढेको बताउँछन् ।

‘हाल लगाइएका बीउ पुरानो भएकाले परिवर्तन गर्न सकिएमा उत्पादन थप बढाउन सकिन्छ,’ उनले भने । जिल्लामा २९ हजार दुई सय हेक्टरमा वर्षे धान लगाइन्छ । गतवर्ष ९७ हजार ५ सय मेट्रिक टन वर्षे धान उत्पादन भएको थियो ।

वर्षे धान लगाउने क्षेत्र बढाउन नसकिने भए पनि सिँचाइको सुविधा पु¥याउन सकेमा चैते धान रोप्ने क्षेत्र बढाउन सकिने विज्ञहरु बताउँछन् । वर्षातमा थन्क्याउनु पर्दा काममा कठिन र मूल्य पाउन नसक्ने समस्या रहेको किसानको गुनासो छ । मुख्यरुपमा चैते धान चिउराका लागि प्रयोग गरिन्छ ।

प्रतिकृया दिनुहोस