शुक्लाफाँटामा जलपक्षी गणना

Shuklaphta

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जलपक्षी गणनाको कार्य सम्पन्न भएको छ ।

विशेषज्ञको सहयोगमा एक साता लगाएर गरिएको गणनामा ५८ प्रजातिका ३ हजार ६४१ वटा जलपक्षी फेला परेका छन् ।

प्रत्यक्ष अवलोकन र वाइनाकुलरको सहायताले गरिएको गणनाका क्रममा हाँस प्रजाति १५, गरुड प्रजाति पाँच, बकुल्ला १२, जलेवा दुई, सारस एक, हुटिट्याउँ चार, सिसिडिया पाँच र गंगा चिल एकलगायतका प्रजाति फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताए ।

सीमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त स्थान भएकाले शुक्लाफाँटामा जलपक्षीको संख्या प्रतिवर्ष बढ्दोरुपमा रहेको उनले बताए । उत्तरी ध्रुवमा चिसो बढेपछि चिसो छल्नका लागि बसाइँ सार्दै पाहुना जलपक्षी यहाँका सीमसार क्षेत्र, ताल तलैया, नदीलगायतका क्षेत्रमा पुग्ने गर्छन् ।

हिउँदका बेला साइबेरियालगायत क्षेत्रमा चिसो अत्यधिक हुने र आहारको कमी हुने भएकाले जाडो छल्नका लागि यसतर्फ चराहरु आउने गरेका हुन् । यसै क्षेत्र भएर जलपक्षी भारत, बंगलादेश र श्रीलंकालगायतका देशमा समेत जाने गरेका छन् ।

निकुञ्जको रानीताल, सलगौडीताल, कालिकिच ताल र तारा ताल क्षेत्रमा जलपक्षीकोे चहलपहलमा बढोत्तरी भएको छ । प्रतिवर्ष कात्तिकदेखि नै आगन्तुक चरा यहाँ आउने क्रम शुरु हुन्छ ।

सिमसार क्षेत्रमा बच्चा कोरलेर चरा चैतदेखि जेठसम्म पुनः साइबेरियालगायतका क्षेत्रमा फर्कने गरेका छन् । निकुञ्जमा रहेका प्राकृतिक तालको व्यवस्थापन र कृत्रिम पोखरी निर्माणले चरा आउने क्रममा विगतको तुलनामा बढोत्तरी भएको गणनामा संलग्नको भनाइ छ ।

गणनाका क्रममा एउटै तालमा ३० देखि १५० प्रजातिका चरा एकसाथ देखापरेका छन् । शुक्लाफाँटा निकुञ्जसँगै चौधर नदी, महाकाली नदी, सनवोरा, दोदा स्याली नदी, बन्दाताल र प्याराताल क्षेत्रमा समेत जलपक्षीको चहलपहलमा वृद्धि भएको छ ।

गणनाका क्रममा देखापरेका केही हाँस प्रजाति, बकुल्ला प्रजाति, जलेवा, सारस, हुटिट्याउँलगायत रैथाने प्रजातिका हुन् भने हाँस, बकुल्ला प्रजातिका अधिकांश चरा आगन्तुकका रुपमा रहेका छन् । नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये शुक्लाफाँटामा ४२४ प्रजातिका चरा पाइने गरेका छन् ।

जसमध्ये सारस, खरमजुर, सिम तित्रा र विश्वकै दुर्लभ मानिएको लेसर भुडीफोर चरा यहाँ पाइने गरेको छ । जलपक्षी गणनामा निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जुलोजिकल सोसाइटी अफ लण्डन र चरा विशेषज्ञ हेमसागर बरालको संलग्नता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...