चियाको मुनामा भविष्य खोज्दै इलामका किसान

Chiya tipdai  jasbire ilam

इलाम । इलाम नगरपालिका–१ की मिलनकुमारी खत्रीलाई १५ वर्षअघिसम्म चियालाई ओइलाएपछि राखेर लामो समय प्रयोग गर्न सकिन्छ भन्ने थाहा थिएन । चियाको मुना टिपेर तत्कालै प्रशोधन गरेको मात्र चिया हो भन्नेबारे मात्र उनलाई पत्तो थियो ।

गाउँकै अन्य बासिन्दाले जानकारी दिएपछि चियालाई ओइलाएर राख्दा अझै राम्रो हुने खत्रीलाई थाहा भयो । “त्यति बेला थोरै मूल्यमा मात्रै चिया बिक्थ्यो” उनले भने , “आर्थिक स्थिति राम्रो थिएन । त्यसैले घरायसी सामग्री सटहीकै लागि पनि चिया सुकाउने काम गर्न थाल्यौँ ।”

चियाखेतीबाट आम्दानी लिन सकिन्छ भन्ने थाहा नभएपछि खत्रीले वस्तु सटहीकै लागि मात्रै चिया सुकाउने गर्थे । “चियाको दाम त्यति बेला प्रतिकिलो ८ थियो, हामी बिक्री गर्दैनथ्यौँ” उनले भने ।

थोरै बारीमा पराम्परागत शैलीमा गरिँदै आएको चियाखेती केही समयपछि गाउँभर विस्तार हुन थाल्यो । उहाँका अनुसार चिया बनाउन थालेपछि अन्य गाउँबाट पनि माग आउन थाल्यो । “चिया रोपेको ३÷४ वर्षपछि मात्रै नगदमा बेच्न थाल्यौँ” उनले भने, “हामी त्यति बेला घाममा मात्र चिया सुकाउथ्यौँ तर पानी परेको बेला भने आगोमाथि फलामको पातामा राखेर सुकाउथ्यौँ ।”

घरेलु तथा साना उद्योग विकास समितिबाट उद्योग दर्ता गर्नुपर्ने र त्यसबापत प्राविधिक शिक्षा पनि लिन मिल्ने सुनेपछि उद्योग दर्ताका लागि खत्री सदरमुकाम आए । चिया उद्योग दर्ता गराएपछि सेवा सुविधा पाइने भएपछि उनी सदरमुकाम आए । “त्यतिबेला दुई हजार पुरस्कार पाएकी थिएँ,” उनले विगत सम्झिए, “त्यसले थप हौसला बढायो ।”

अहिले खत्रीले आफ्नो र भाडामा गरी नौ सय रोपनी जग्गामा चियाखेती गरिरहेका छन् । चिया बगानसँगै उनकै चिया प्रशोधन उद्योग पनि छ । “वार्षिक ३ लाखदेखि ४ लाखसम्म नाफा हुन्छ,” उनले भभने । उनले चिया विदेशमा समेत निर्यात गर्दैआएका छन् ।
खत्री राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् । लेकाली कृषि सहकारी संस्थामा आबद्ध उनले चियाकै लागि उन्नति परियोजनाबाट ८० लाखको परियोजना प्राप्त गरेका छन् ।

यस्तै, सूर्योदय नगरपालिकाका काजीमान कागतेले पनि २५ वर्षअघि आफ्नै ५ रोपनी जग्गामा चियाखेती शुरु गरेका थिए । आफैँले प्रयोग गर्न मात्रै खेती गरेको कागतेले चियाको माग बढ्दै गएपछि खेतीको विस्तार ग¥यो हाल ८० रोपनी आफ्नै जग्गामा चियाखेती गरेको कागतेको दैनिकजसो २ सय किलोसम्म हरियोपत्ती उत्पादन गर्छन् ।

“चियाले नै परिवार पालेको छु,” कागतेले भने । झुल्के घाम लघु चिया उद्योगका सदस्य कागतेले चियाखेतीकै लागि उन्नति परियोजनाबाट १६ लाखको परियोजना प्राप्त गरेको छ । चियाखेतीको विकल्प नभएको उनको भनाइ छ ।

खत्री र कागते प्रतिनिधि पात्र मात्र हुन । चियाखेतीबाट मनग्य आम्दानी गर्ने किसान थुप्रै छन् । विभिन्न संघ संस्थाले तालीमको व्यवस्था गर्न थालेपछि इलाममा चिया उत्पादनमा सुधार आएको चिया उत्पादन जिल्ला कषि सहकारी संघका उपाध्यक्ष पदमबहादुर तामाङ बताउँछन् । ४० वटा सहकारीको छाता संगठन रहेको सो संस्थाले उन्नति परियोजनासित समन्वय गरेर काम गर्दै आएको छ । “वर्षेनी १० प्रतिशतका दरले चिया उत्पादन बढ्ने गरेको छ,” उनले भने ।

चियाखेतीको अवलोकन गर्न बाह्य पर्यटक आउने गरेका केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राई बताउनुहुन्छ । अहिले ललितपुर, रामेछाप, कास्कीलगायत जिल्लामा समेत चियाखेती गर्न थालिएको छ । देशभर करिब ९० हजार व्यक्तिले चियाबाट रोजगारी पाएका छन् भने २० हजारभन्दा बढीले चियाको व्यावसायिक खेती गर्दैआएका छन् । नेपालमा ८६ वटा साना उद्यम छन् ।

नेपालमा निजी क्षेत्रबाट ६७ प्रतिशत र सरकारी क्षेत्रबाट ३३ प्रतिशत चिया उत्पादन हुन्छ । संघका अनुसार नेपालमा उत्पादित चिया १० प्रतिशत मात्रै नेपालमा खपत हुने गरेको छ भने बाँकी ९० प्रतिशत विदेश निर्यात हुन्छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार चिया उत्पादन बढाउनकै लागि चिया क्षेत्र घोषणा भएका बाहेकका जिल्लामा समेत चियाखेती विस्तार गर्नका लागि प्रवद्र्धन गरिएको छ । त्यस्तै बोर्डले चियाको गुणस्तरको वृद्धि गर्नका लागि वर्षेनी तालीम तथा परामर्शको कार्यक्रम सञ्चालन गर्दैआएको छ ।

बोर्डका अनुसार नेपालमा आव २०७३/७४ मा २७ हजार ६८८ हेक्टर जमिनबाट दुई करोड ४२ लाख ७३ हजार ७४४ किलो चिया उत्पादन भएको थियो । देशकै सबैभन्दा बढी चिया उत्पादन हुने जिल्लामा झापा, इलाम, पाँचथर, तेह्रथुम रहेका छन् ।

 

प्रतिकृया दिनुहोस