निर्वाचन नजिकिएसँगै आचारसहिंता उल्लंघन वृद्धि

Baitadai piccc

ललितपुर । निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा उम्मेदवार र तिनका समर्थकले आचारसंहिताको उल्लंघन गर्ने क्रम बढेको छ ।

उम्मेदवारी दर्तापछि शुरुका दिनमा आचारसहिंता पालना भइरहे पनि निर्वाचन नजिकिँदै गर्दा उल्लंघन बढेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचारसहिंता अनुगमन अधिकृत भीम पाण्डेले बताए । उनले भने, ‘जिल्लाका विभिन्न भागमा ब्यानर, पम्प्लेट टाँस्ने काम बढिरहेको छ ।’

शहरका भित्री भागभन्दा पनि चक्रपथ बाहिर उम्मेदवारका प्रचार सामग्री टाँसिएको र झुण्ड्याएको बढी पाइएको छ । दलका उम्मेदवार मात्रै होइन, आचारसहिंताको उल्लंघन गर्नेमा स्वतन्त्र उम्मेदवारसमेत छन् ।

आचारसहिंता पालना गराउनका लागि जिल्लास्तरमा सर्वदलीय बैठक भइरहेका छन् । बैठकमा आचारसहिंता विपरीत राखिएका पर्चा, पम्प्लेट हटाउन दल र उम्मेदवारलाई पटक पटक सम्झाइएको पाण्डे बताउँछन् ।

कार्यालयले लिखित र मौखिक दुवै रुपमा उम्मेदवारलाई आचारसंहिताको पालना गर्न सम्झाइरहेको छ । उनले भने, ‘हामीले यही मंसिर १४ गते लिखित रुपमा नै बढी प्रचार सामग्री भएका दल र उम्मेदवारलाई हटाउन भनेका थियौँ ।’

आचारसहिंता विपरीत राखिएका प्रचार सामग्री हटाउन कतिले माने पनि कतिपयले अटेर गर्ने गरेको पाण्डे बताउँछन् । उनले भने, ‘हामीले भनेपछि कतिपयले भने भोलिपल्ट आफैंँ हटाएका पनि थिए ।’

अटेर भएका कतिपय स्थानमा भने सुरक्षाकर्मीको सहयोगमा हटाइएको छ । सुरक्षाकर्मीले केही दिन पहिले जाउलाखेल, पुल्चोक, सानेपालगायत स्थानमा आचारसहिंता विपरीत राखिएको प्रचार सामग्री हटाएको थियो ।

आचारसहिंता उल्लंघन भएको भन्दै कार्यालयमा मौखिक उजुरी परिरहेको छ । पाण्डेले भने, ‘ठूलो स्पिकर बजाएको भन्दै केही दिन पहिले उजुरी परेको थियो ।’

केन्द्रमा निर्वाचन आयोगले आचारसंहिताको कार्यान्वयनको अवस्था अनुगमन गरिरहेको छ । जिल्लामा भने एक अधिकारीलाई आचारसंहिता कार्यान्वयनको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।

एक जना मात्रै हुँदा रिपोर्टिङ भन्दा अरु कामगर्न नभ्याइने पाण्डे बताए । उनले भने , ‘एक जना व्यक्तिले आचारसंहिताको पालना भए/नभएको मात्रै हेर्न भ्याउँछ, पालना गर्न लगाउनेसम्मको काम गर्न भ्याउँदैन ।’

जिल्ला निर्वाचन कार्यालयका प्रमुख सीता साम्बा लिखितभन्दा पनि मौखिक उजुरी आउने गरेको बताउँछिन् । केही दिन पहिले ठेचोमा झण्डालगायत प्रचार सामग्रीको प्रयोग भएको उजुरी आएको थियो । उनले भनिन्, ‘लिखित रुपमा भने एउटा पनि उजुरी हामीकहाँ आएको छैन ।’

मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले निर्वाचन आचारसहिंता विपरीत प्रचार सामग्री राख्ने काम ग्रामीण क्षेत्रमा मात्रै रहेको बताए । उनले भने ‘शहरी क्षेत्रमा छिटफुट भए पनि हामीले हटाउन लगाएका छौँं ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लिखित उजुरी एउटा पनि छैन । दलहरुबीचमा एउटाले राखेपछि उजुरी गर्नुभन्दा पनि राख्नेमा नै होडबाजी हुने गर्छ ।

जिल्लामा ३ प्रतिनिधिसभा सदस्यका लागि ४७ जनाको र छ प्रदेशसभा सदस्यका लागि ६३ जनाको उम्मेदवारी परेको छ । जिल्लाभरमा २ लाख २८ हजार ३३८ जना मतदाता छन् । क्षेत्र नं ३ मा सबैभन्दा बढी ८६ हजार ४३९ र क्षेत्र नं १ मा सबैभन्दा कम ६५ हजार ९१८ मतदाता छन् । क्षेत्र नं २ मा ७५ हजार ९८१ मतदाता छन् ।

स्थानीय निकायको निर्वाचनमा भन्दा अहिले झण्डै १५ हजार मतदाता थप भएको कार्यालयले जनाएको छ । जिल्लामा १३१ मतदानस्थलमा २७७ मतदान केन्द्र छन् । निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी आवश्यक सामग्री लिएर सम्बन्धित केन्द्रमा मंगलबार नै पुगिसकेका छन् ।

प्रतिकृया दिनुहोस