थापा र राई बीचको दोस्रो भेटमा कसले मार्ला त बाजी ?

गाउँले बीचको प्रतिष्पर्धा निक्कै रोचक बन्दै

Sunil thapa 14

धनकुटा । निर्वाचन आउन करिव एक साता बाँकी रहँदा धनकुटाको चुनावी माहोल तातिएको छ । सबैको मुखमा चुनावका कुरा आउँछन् । सबैलाई चासो छ कि धनकुटामा कसले मार्ला बाजी भनेर ।

यति मात्रै होइन, दोस्रो संविधान सभाको निर्वाचनमा एउटै गाउले, जो एउटै आगँनमा हुर्किए पनि फरकफरक विचार राख्ने राजेन्द्र राई र सुनीलबहादुर थापाबीच प्रतिष्पर्धा भएको थियो । त्यसबेला थापाले बाजी मारे ।

अहिले फेरि दुबै जना आमनेसामने भएका छन् । थापा र राई बीचको चुनावी भेट यो दोस्रो हो । राई र थापा तत्कालीन धनकुटा क्षेत्र नं. २ मा भएको प्रतिस्पर्धामा थापाले राईलाई ४ सय ५६ मतको झिनो मतले पराजित गरेर थापाले राजनीतिक रुपमा बाजी मारेका थिए ।

त्यसबेला थापाले जित्छन् भन्ने कमैलाई थियो । धेरैले राईले जित्ने आँकलन गरेका थिए तर, त्यसबेला थापाको पक्षमा १० हजार ९३ परेको थियो भने राईको पक्षमा ९ हजार ६ सय ३७ मत परेको थियो ।

धनकुटालाई अन्य जिल्लाबासीले सूर्यबहादुर थापाको जिल्ला भन्ने गर्छन् । त्यही विरासतकै आधारमा सूर्यबहादुर थापाले आफु जिउँदै रहँदा सुनील थापालाई राजनीतिमा जिउँदा व्यक्तिको रुपमा स्थापित गरे । जसले राष्ट्रिय राजनीतिमा उदयमान व्यक्तित्वको रुपमा स्थापित गरेर प्रमाणित गरिदिए अर्थात् २०७० साल यता मात्रै उनी २ पटक मन्त्री बनिसके ।

दोस्रो संविधान आउनु अघिसम्म थापा सक्रिय राजनीतिमा थिएनन् । उनी राजनीतिमा आउनुअघि संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायोगमा जागिरे थिए । अहिले उनी उद्योग मन्त्री छन् । यसअघि उनी बाणिज्य तथा उद्योग बन्त्री बनेका थिए । उनको पिता सूर्यबहादुर थापा पनि पहिलोपटक बाणिज्य र दोस्रो पटक उद्योग मन्त्री बनेका थिए ।

‘मलाई धनकुटेली जनताको राम्रो साथ छ’ उद्योगमन्त्री समेत रहेका थापा भन्छन्, ‘मैले विगतदेखि नै जनताको काम गरेको, समस्या बुझेको र अहिलेसम्म कुनै विवादमा नमुछिएको जिल्लावासीले बुझेका छन्, त्यही भएर म जित्छु ।’ तर, थापाले भने जस्तो उनलाई जित हात पार्न सजिलो छैन । किनभने उनी संगठनात्मक रुपमा कमजोर छन् ।

अघिल्लोपटक पराजय भोगेका राई योपटक जसरी पनि जितेरै छाड्ने योजनामा छन् । देशमै सूर्यबहादुर थापाको जगजगी भएका बेला ‘मुगाली थापाहरूको आँगनमा बसेर कम्युनिस्ट हुन सजिलो थिएन । त्यही अवस्थामा कम्युनिस्ट बनेका थिए राई ।

उनी संघर्षशील नेता हुन् । तर, उनलाई धेरैले घमण्डी भन्ने गर्छन् । अघिल्लोपटक आफ्नै पार्टीबाट अन्तरघातमा परेका राईलाई योपटक जिल्लाको बलियो शक्ति माओवादी केन्द्रको साथ छ । ‘मैले जितिसके’ राई भन्छन्, ‘यो चुनाव त केवल अरुको त उपस्थिती मात्रै हो जित मेरो हो ।’

तर धनकुटामा माओवादीका कुनै पनि उम्मेदवार नभएका कारण उनलाई योपटक पनि जित हात पार्न सहज छैन ।

प्रतिकृया दिनुहोस