भूकम्पबाट भत्केका घर बनाइदिनेलाई मत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बतासे २ की ७८ वर्षीया मनकुमारी विक बेसहारा रहेकी छन् । परिवारको साथ त थिएन नै प्रकृतिले पनि ठग्यो ।

विसं २०७२ को गोरखा भूकम्पले सम्पत्तिको नाउँमा रहेको एउटा छाप्रो घर पनि ध्वस्त बनाइदियो । तर, अझै आश मरेको छैन । घर ठडिने सपना बोकेकी छन् । त्यसैले घर बनाउन सहारा दिने उम्मेदवारलाई मत दिने योजना बनाएकी छन् ।

‘घर बनाइदिए हुने थियो, बरु खाना मागेर पनि खाने थिएँ, चार पैसा छैन, भएको खेतीबाट जेनतेन छ महिना खान पुग्छ, बाँकी गाउँमै सामान्य काम गरेर खान्छु’, उनले भनिन् ।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकका मतदातालाई विकासभन्दा पनि पहिला भत्केका घर बनाइदिने उम्मेदवारलाई जिताउने मनसाय छ ।

नौबिसे २ का ८१ वर्षीय भरतराज भण्डारी गाउँमा राम्रो विकास गर्नेलाई मतदान दिने बताइन । काँग्रेसका पुराना मतदाता रहेका भण्डारी यसपटक मत कसलाई दिने भन्ने अन्योलमा रहेकी छन् ।

उनी भन्छिन् ,‘जित्ने उम्मेदवारबाट ज्येष्ठ नागरिकलाई भत्ता बढाइदिने र रोगब्याधीको औषधि उपचार गर्नेलाई मत दिन्छु ।’

बतासे २ देवीडाँडाका मानबहादुर विक राम्रो उम्मेदवारले जितेमा गाउँमा विकास छाउने अभिलाषामा छन् । यता जलवीरे–२ का बाबुराम सापकोटाको अरुको भन्दा फरक मत छ । हिन्दू धर्मको संरक्षण गर्ने दलले जिते हुनेथियो भन्ने उनको आशा छ ।

जुगल गाउँपालिका बराम्चे ५ ढाँडेमा नेपाली काँग्रेस चुनाव प्रचारप्रसार समितिले आइतबार आयोजना गरेको चुनावी सभामा भेटिएका माथिका प्रतिनिधि जस्तै धेरैको मत विकासप्रेमी उम्मेदवारलाई दिने योजना छ ।

नेपाली काँग्रेसका स्थानीय नेता रेशम गिरी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता माङ्माया स्याङ्बोले जसले जिते पनि पहिला भूकम्पबाट भत्किएका घर निर्माण तथा जिल्लाको सडक, खानेपानी र जडीबुटीको व्यवस्थापनसँगै पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने बताए ।

चुनावी सभालाई सम्बोधन गर्दै सूचना तथा सञ्चारमन्त्री बस्नेतले लोकतन्त्रको संरक्षण गरी विकासलाई तीव्रता दिन लोकतन्त्रवादी शक्तिलाई विजयी गराउन मतदातालाई आग्रह गर्ने ।

प्रतिनिधि सभाको क्षेत्र नं १ मा नेपाली काँग्रसका तर्फबाट उम्मेदवार बन्नुभएका मन्त्री बस्नेतले ठूला सपना बाँड्नुभन्दा पनि जनताका आधारभूत आवश्यकता, सडक, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी आदिको निर्माणलाई निश्चित समयभित्र सक्नेगरी योजना ल्याइने बताए ।
मन्त्री बस्नेतले जिल्लाका सबै गाउँमा मोटरबाटो, सूचना र प्रविधिको पहुँच विस्तार गर्ने तत्कालीन योजना पनि सुनाए ।

‘हामी भोट माग्न त्यसै आएका छैनौँ । भूकम्पबाट कुन बस्ती जोखिममा छ, कहाँ स्थानान्तरण गरी बस्ती विकास गर्नुपर्छ, त्यसको योजनाबद्ध कार्यक्रम ल्याएर गाउँमै रोजगारी सिर्जना गर्छौं’,।
दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि क्षेत्र नं १ मा सञ्चारमन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेत र क्षेत्र नं २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर जबरा उम्मेदवार बने ।
प्रदेश सभाअन्तर्गत क्षेत्र नं १ को क मा विष्णु खत्री र ख मा राजेन्द्र श्रेष्ठ तथा क्षेत्र नं २ को क मा विकास लामा र ख निमा लामा उम्मेदवार उठेका छन् ।

त्यस्तै, वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा क्षेत्र नं १ बाट पूर्व सञ्चार मन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा र क्षेत्र नं २ मा नेकपा एमालेका नेता शेरबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश सभातर्फ क्षेत्र नं १ ९क० मा एमालेको तर्फबाट अरुण नेपाल र ख मा सरेश नेपाल उम्मेदवार बन्नेभएका छन् ।

त्यसैगरी, क्षेत्र नं २ क मा माओवादी केन्द्रको तर्फबाट युवराज दुलाल र ख मा पूर्व सांसद दावा तामाङको उम्मेदवारी परेको छ ।

३ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेको सिन्धुपाल्चोकमा करिब सवा २ लाख मतदाता रहेका छन् । यहाँको कूल जनसंख्या ३ लाखभन्दा बढी छ । यसपटक क्षेत्र नं १ मा हालका सञ्चारमन्त्री र पूर्व सञ्चारमन्त्रीबीचको चुनावी प्रतिस्पर्धा निकै रोचक देखिएको छ ।

 

प्रतिकृया दिनुहोस