यतिको एटिआर विमान काठमाडौँमा

Domestic air

काठमाडौँ, । निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको छ ।

काठमाडौँमा शनिबार अवतरण गरेको कल साइन नाइन–एएमएन ७२ सिटे विमान कम्पनीले १ एक अर्बको लगानीमा खरिद गरेको हो ।

फ्रान्सको विमान निर्माता कम्पनी एटिआरमा निर्मित उक्त विमान सिंगापुरबाट थाइल्याण्ड र थाइल्याण्डको च्याङमाई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो ।

सो विमान सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले जानकारी दिए । उनका अनुसार यो विमानले सातापछि विराटनगर, भैरहवा, नेपालगञ्ज र भद्रपुर उडान थाल्नेछ ।

यो एटिआर विमानसँगै यतिका अब सातवटा विमान भएको छ । हाल यतिले बेलायतमा निर्मित ३० सिट क्षमताको जेटस्ट्रिम–४१ सिरिजका ६ थान जहाज सञ्चालन गरिरहेको छ ।

यतिले यसवर्षभित्र थप २ एटिआर विमान ल्याउँदैछ । अहिले खरिद गरेको कम्पनीबाटै थप २ विमान ल्याउने तयारी भएको र १ महिनापछि अर्को विमान आउने व्यवस्थापक राईले जानकारी दिनुभयो । बुद्ध एयरले सुरुमै ४ एटिआर विमानबाट सेवा दिँदै आएको छ ।

भौतिक पूर्वाधार साँघुरो रहेको मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा एटिआर विमानले सहजता हुने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।

“उडान सञ्चालनमा सहज हुन्छ, साना विमानको भीडमा ठूलो विमान हुँदा आकाशमा ‘होल्ड’ गर्नुपर्ने अवस्था आउँदैन, ‘एयर ट्राफिक’ जाम पनि हुँदैन र यसले ‘फ्रिक्वेन्सी’ जाममा पनि नपर्ने हुँदा उडानमा सहजता हुने ठाकुरले बताएका छन् ।


त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानतर्फ हेलिकप्टरसहित २० वटा वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस